समाचार

रौतहट–१ मा अध्यक्ष नेपालको अग्रता

५ मंसिर, रौतहट । रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य तर्फको पछिल्लो मतगणनाअनुसार सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् ।
राति सवा नौ बजेसम्म भएको कूल दुई हजार आठ सय २६ मतगणनामध्ये अध्यक्ष नेपालले एक हजार चार सय ७५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ताले एक हजार दुई सय ३१ मत प्राप्त गरेका छन् । दुई हजार आठ सय २६ मत गन्दा अन्य उम्मेदवारले ११ मत प्राप्त गरेका छन् भने एक सय १९ मत वदर भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ । रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न पार्टीका आठ र नौ जना स्वतन्त्रसहित कूल १७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।