अन्तर्राष्ट्रिय

पाकिस्तानमा पोलियो खोप अभियान सुरु

१२ मंसिर, इस्लामाबाद । पाकिस्तानमा यहाँका बालबालिकाका लागि पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको पाकिस्तान सरकारले जनाएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले यस वर्षको तेस्रो पटकको अभियान आइतबारबाट सुरु भएको जनाएको छ ।

यस अभियानबाट कम्तीमा पनि एक करोड ३५ लाख बालबालिकालाई पोलियोका विरुद्धको खोप दिइने पनि पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पाकिस्तानका ३६ जिल्लाका पाँच वर्ष मुनिका एक करोड ३५ लाख बालबालिकालाई सो खोप दिइने जानकारी मन्त्रालयले दिएको छ ।

पाकिस्तानका खैबर पाक्थुन्क्वा र पञ्जाव प्रान्तका बालबालिकामा विशेषगरी सो खोप बढी केन्द्रित गरिने पनि जनाइएको छ । पाकिस्तानमा पछिल्ला केही वर्षयता पोलियोका विरामी भेटिन थालेकाले सरकारले यो खोपलाई अभियानका रुपमा देशभरि दिने कार्यक्रमहरु ल्याएको छ ।

पाकिस्तानी स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ यसवर्षमात्र कम्तीमा पनि २० जनामा पोलियोको प्रकोप देखिएको छ । ती सबैजना खैबर पाक्थुन्क्वा प्रान्तका रहेका छन् । यस खोप अभियानमा एक लाख स्वास्थ्यकर्मीलाई खटाइएको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।