राजनीति

६४ मतसहित देउवा पुनः बने काँग्रेस संसदीय दलको नेता, थापालाई २५ मत

६ पौस, काठमाण्डौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज भएको मतदानमा ६४ मत ल्याएर शेरबहादुर देउवा संसदस्य दलमा निर्बाचित भएका छन् । देउवाले ३९ मतान्तरले गगनलाई पारे पछि ।
संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका थिए । थापाले २५ मत ल्याएका छन् ।

बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको भएपनि केही ढिलो मतदान भएको थियो । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् । माया राईलाई उपचार गराईरहेका बेला अस्पतालमा नै गई मतदान गर्ने ब्यवस्था मिलाईएको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको थियो ।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए । समितिले उम्मेदवारी दरखास्त दिन मङ्गलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको थियो ।

कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।