समाचार

स्वास्थ्यमा सुधार भएपछि नेता नेपाल डिस्चार्ज

८ पौस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए । उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार देखिन थालेपछि नेता नेपाल हिजो पुस ७ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथग्रहण समारोहमा सहभागी हुनाका साथै हिजै बेलुका प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए ।