समाचार

सुन प्रकरणमा सिआइवीद्वारा प्रहरीका डिएसपी पक्राउ

११ पुस, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले अवैध गतिविधि (सुन प्रकरण) मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ ।

ब्यूरोलाई प्राप्त सूचनाका आधारमा गएराति काठमाडौँबाट खटिएको टोलीले बुटबलका खिलेन्द्र सिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुन जस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

त्यसपछि उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र इप्रका बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक केसीको आपसी सम्बन्ध रहेको खुलेपछि डिएसपी केसीको निवास लक्ष्मीनगरमा पुगेर उनलाई पक्राउ गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको पनि उनले बताए । बरामद भएको रकम, सुन जस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी र खिलेन्द्र सिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको पनि उनले जानकारी दिए । प्रहरीका अनुसार उनले व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि पैसा लिएको आरोप छ ।