समाचार

‘मानव बेचबिखन नियन्त्रणमा तीनै तहको सरकारको सहकार्य जरुरी’

१२ पौस, काठमाडौं । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि तीन वटै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् ।

माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रमुख कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी सङ्घसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचबिखन रोकिने धारणा राखे ।

महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाबीच पनि समन्वय जरुरी रहेको उनले बताए । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचबिखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताए ।

माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले यस अवधिमा एक सय ३६ जनालाई बेचबिखन हुनबाट जोगाएको जानकारी दिए । संयोजक पोखरेलले ४७ जना बेपत्तामध्ये ११ जना मात्रै फेला परेको जानकारी दिए ।

उनका अनुसार यस अवधिमा एकको उद्धार गरिएको र बेचबिखनमा संलग्न एक जनालाई पक्राउ गरी मुद्दा चलाइएको तथा एक सय पाँचवटा घरेलु हिंसाका घटना भएको बताए ।

अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, मोरङका प्रहरी प्रमुख शान्तिराज कोइराला, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा लगायतले मन्तव्य राखेका थिए ।