आर्थिक

सहकारीद्वारा ३० बिघा जमिनमा जडीबुटी खेती

१४ पौस, झापा । महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ ३० बिघा जमिनमा जडीबुटी खेती सुरु गरेको छ ।

उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ पर्याप्त उत्पादन गर्ने उद्देश्यले सहकारीले प्रदेश नम्बर १ सरकारको सहयोगमा जडीबुटी खेती सुरु गरेको हो ।

सहकारीले २०७७ साल मङ्सिरदेखि रु एक करोडको लगानीमा मेचीनगर नगरपालिका–८ मा उद्योग सञ्चालनमा ल्याएको हो । तर पर्याप्त कच्चा पदार्थको अभावमा हप्तामा दुई दिन मात्र उद्योग चल्ने गरेको सहकारी सञ्चालक समितिका अध्यक्ष राजु दाहालले बताए ।

उनका अनुसार उद्योग सञ्चालनका लागि प्रदेश सरकारबाट रु ७५ लाख अनुदान प्राप्त भएको छ । औषधिजन्य पदार्थको खेतीका लागि चालु आर्थिक वर्षमा कूल रु ५० लाखमा ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत सहकारीको लगानी हुने भएको छ ।

उद्योगमा औषधिजन्य कच्चा पदार्थ तेजपात, लेमन ग्रास, सिटोनेला, हर्दी, नीम, बकाइनो, मसला, तुलसी, बाबरीलगायतका कच्चा पदार्थ प्रशोधन भइरहेको उनले बताए ।

सहकारीका सदस्यहरूले उत्पादन गरेका औषधिजन्य कच्चा पदार्थ उद्योगले खरिद गर्दै आएको छ । तर, उद्योगलाई चाहिने पर्याप्त कच्चा पदार्थ उत्पादन गर्न नसक्दा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । अध्यक्ष दाहालले दैनिक उद्योगमा दुई मेट्रिकटन कच्चा पदार्थ प्रशोधन गर्ने क्षमता रहेको बताए ।

पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढिरहेको सहकारीले चालु आर्थिक वर्षदेखि औषधिजन्य बिरुवासमेत रोपण सुरु गरेको हो । सहकारीले हात्ती प्रभावित क्षेत्र मेचीनगर १,४,५ र ६ नम्बर वडाको दशगजा क्षेत्रमा सदस्य किसानको खेतबारीमा बिरुवा रोपण सुरु गरेको छ ।

दुई वर्षभित्र एक सय बिघा जमिनमा सिटोनेला, लेमन ग्रास र तेजपात लगाउने अभियानमा अघि बढेको सहकारीले हाल ३० बिघा क्षेत्रमा सिटोनेला र लेमनग्रास प्रजातिका बिरुवा रोपिसकेको उनले बताए ।

विगतमा छिमेकी जिल्ला इलामबाट तितेपाती र पाँचथरबाट धसिङ्ग्रे खरिद गरेर ल्याउन गरे तापनि ढुवानी खर्च महँगो परेका कारण अहिले ल्याउन नसकिएको उनले बताए । उनले भने, “हामीसँग दुई हजार दुई सय शेयर सदस्य छन् । उनीहरूलाई नै जडीबुटीको खेती गर्न लगाउन थालेका छौँ । यसो गर्दा शेयर सदस्यको जीविकोपार्जन गर्नका लागि आम्दानी पनि हुन्छ, उद्योगलाई चाहिने कच्चा पदार्थको समेत अभाव हुँदैन ।”

सहकारीले सदस्यहरूको खेतमा रोपिएको औषधिजन्य वनस्पति प्रतिकिलो रु आठमा खरिद गर्ने सदस्य र सहकारीबीच सम्झौता भइसकेको उनको भनाइ छ । उहाँले किसानले रोपण गरेको औषधिजन्य पदार्थ लगाएको तीन महिनापछि आम्दानी दिने बताए । उनका अनुसार एक बिघा जमिनमा लगाइएको जडीबुटी खेतीबाट एकपटकमा ४० क्विन्टल कच्चा पदार्थ उत्पादन हुनेछ ।

उनले कच्चा पदार्थ उत्पादन भएसँगै उद्योगसमेत नियमित सञ्चालनमा आउने बताए । अध्यक्ष दाहालले एकपटकमा उद्योगलाई दुई हजार केजी कच्चा पदार्थ चाहिने बताए ।

बाहुनडाँगीमा “तरुल उत्सव” हुँदै

प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा “तरुल उत्सव” हुने भएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव आयोजना हुने भएको हो ।

हात्तीले पनि नखाने, स्वस्थकर खानाका रूपमा रहेको तरुलको पहिचान गराउने र कृषि पर्यटनमा टेवा पुर्याउने उद्देश्यले माघे सङ्क्रान्तिको अवसर पारेर तरुल उत्सवको आयोजना गर्न लागिएको मेचीनगर–४ वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

“हिजो हाम्रा बाबु बाजेले खाजाका रूपमा खाने तरुलको महत्त्व हराउँदै गयो”, उनले भने, “मम, चाउमिन र चाउचाउ जस्ता तयारी खाजामा रुमलिएका हाम्रा नानीहरूले तरुल नै नचिन्ने भए । तरुल चिनाउन आज उत्सव नै आयोजना गर्नुपर्ने भयो ।”

उनले उत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन हुने, घर तरुल, सिमल तरुल, सक्खरखण्ड, वनतरुललगायत परम्परागत कृषि औजारहरूको समेत उत्सवमा प्रदर्शनी गरिने बताए ।

वडाध्यक्ष कार्कीले बाहुनडाँगीवासीले दैनिक आउने जङ्गली हात्तीको हुलबाट अन्न जोगाउन नसकेपछि पछिल्लो समय धान, मकैलगायतका खेतीको सट्टामा सुपारी, मरिच, तेजपात, चिया खेती गर्दै आएको बताए । उनले सुपारी खेतीभित्रै तरुलको व्यावसायिक खेती गर्न सकिने हुँदा कृषि विज्ञहरूद्वारा स्थानीयवासीलाई उत्सवमा तरुलको महत्त्व र खेतीको बारेमा जानकारी दिइने बताए ।

उत्सवमा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूलाई समेत उपस्थित गराएर विभिन्न चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा तरुलको परिकारका बारेमा बुझाइने उनको भनाइ छ । उत्सवको आयोजना मेचीनगर–४ ले गर्ने उनले बताए ।