राजनीति

मानव कल्याणको क्षेत्रमा सन्दुकको योगदान देशकै लागि प्रतिष्ठितः प्रधानमन्त्री

५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले डा सन्दुक रुइतले राज्यसँग गर्नुभएको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन् । डा रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आज बिहान सामाजिक सञ्जालमार्फत डा रुइतलाई बधाई दिँदै राज्यसँग उहाँले गर्नुभएको अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् “वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतले प्रतिष्ठित इशा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।”

डाक्टर रुइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने बारेमा नजिकबाट हेरिरहेको बताएका थिए । आँखा उपचारमार्फत उनले मानव सेवामा गर्नुभएको योगदानको कदर गर्दै बहाइनले झण्डै रु १३ करोड पुरस्कार राशिको इशा अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।