कृषि

उचित मूल्य नपाएपछि कृषकले सडकमा तरकारी फालेर गरे प्रदर्शन, सरकार मौन (तस्विरहरुसहित)

२० माघ, चितवन । उचित मूल्य नपाएपछि यहाँका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले आज सडकमा तरकारी फालेका हुन् ।

किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । किसानले घ्युउ सीमी, गोलभेडा, फर्सी, गाजर, काउली, बन्दा लगायतका तरकारी सडकमा फ्याकेर प्रदर्शन गरेका थिए ।

संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आयात नरोकिँदा यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको बताए । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएपनि भारतीय तरकारीका कारण स्थानीय उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपरिरहेको बताए ।

“सङ्घीय, प्रादेशिक र स्थानीय सरकारसँग आयात रोक्न आग्रह गरेपनि सुनुवाइ हुन सकेको छैन”, उनले भने।

चितवनमा दैनिक तीन सय टन तरकारी उत्पादन हुँदै आएको छ । पाँच विघाभन्दा बढी जग्गामा तरकारी खेती गर्ने किसान एक सय जना र एक बिघाभन्दा बढीमा गर्ने झण्डै तीन सय जना रहेको भुसालले जानकारी दिए । यहाँ उत्पादित तरकारी चितवन, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा खपत हुँदै आएको छ ।

“हाम्रो आवाज राज्यले नसुन्दा सडकमा तरकारी फ्याकेर आन्दोलन गर्नुपरेको छ”, तरकारी किसान अविन्द्र सुवेदीले भने । कृषकले पुलचोकस्थित सडकमा पाँच ट्याक्टर तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन् । यति हुँदासम्म सरकार भने कृषकका समस्या समाधानका लागि मौन भएको देखिएको छ ।