राजनीति

राष्ट्रपति सवारीका क्रममा चिकित्सकमाथि भएको कुटपिटप्रति गगनको आपत्ति

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति सवारीका समयमा चिकित्सकमाथि भएको आक्रमणप्रति आपत्ति जनाएका छन् । महामन्त्री थापाले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका समयमा डुटी हिडेका राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि भएको कुटपिटप्रति आपत्ति जनाएका हुन् ।

उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै राष्ट्रपति एउटा व्यक्ति नभई संस्था रहेको बताएका छन् । यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको महामन्त्री थापाले टिप्पणी गरेका छन् ।

उनले यसको एउटा कारण तामझामवाला शैली रहेको बताएका छन् । उनले संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्न आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद छ । दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ । विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको छ । यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ । यो पटक पनि त्यस्तै हुन्छ । तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ ।
१) विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ ।
२) निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ । र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु ।
राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो । यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो । संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ ।’