३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलूकलाई चाहिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने बताए । उनले यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ ।
उनले अघि भने, ‘यहाँ राष्ट्रपति चाहिएको होइन । रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता पर्यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’
सांसद पौडेलले राष्ट्रपतिकै चुनावलाई लिएर सत्ता समीकरण फेरिन सक्ने कतिपयको आंकलनका सन्दर्भमा पनि बोलेका छन् । ‘हामी स्थिरताको पक्षमा छौं । गठबन्धन भत्कियोस् भन्ने चाहना छैन । तर, सुरदपश्चिममा गठबन्धनमा भत्कियो’, उनले भने ।





