गण्डकी प्रदेश

कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन : गण्डकी प्रदेश प्रहरी प्रमुख गुरुङ 

१७ फागुन, कास्की। गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती नरहेको बताएका छन् । सबै देशका नागरिकलाई समान नजरले हेर्दै आएको उल्लेख गर्दै उनले शान्ति सुरक्षालाई ध्यान दिएर काम गरिएको स्पष्ट पारेका हुन् । 

नेपालका लागि जापानी दूतावासका द्वितीय सचिव योसिमुरा केन्जीसँग भएको भेटवार्ताका क्रममा नायव महानिरीक्षक गुरुङले नेपाल भ्रमणका लागि सुरक्षित रहेको जानकारी गराए । गण्डकी प्रदेशमा जापानीज नागरिकको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आएका केन्जीले गुरुङसँग गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थितिबारे जिज्ञासा राखेका थिए।

जवाफमा गुरुङले सुरक्षा अवस्था सामान्य र पर्यटकका लागि उपयुक्त रहेको बताए । उनले कतिपय स्थानमा पर्यटक पथप्रदर्शक बिना एक्लै हिँड्दा समस्या देखिएकाले पथप्रर्दक लिएर जान सुझाव दिएको पनि बताए । 

यसका साथै गुरुङले गण्डकी प्रदेशमा रहेको पर्यटक प्रहरीले समेत पर्यटकलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिइरहेको बताएका छन्  । पर्यटकको सुरक्षार्थ दूतावाससँग सूचना आदानप्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको जनाउँदै उनले जापानीज नागरिकलाई पोखरालगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिएर घुम्न पठाउन आग्रह गरे।    

सचिव योसिमुराले शान्ति सुरक्षाको बारेमा जानकारी लिन पाएकोमा खुसी व्यक्त गर्दै पोखरामा माघ १ गते भएको विमान दुर्घटनाले नेपाल आउने जापानी नागरिक रोकिएको र अब सामान्य हुँदै गएपछि आउने नेपाल घुम्न आउने बताए।