मनोरञ्जन

‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’

२० फागुन, काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रवारदेखि प्रदर्शनमा आएका छन् । 

प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेका थिए। 

यसमा अभिनेता गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय रहेको छ । प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ । यस पटक यो शृङ्खलामा अभिनेता जितु नेपाल भने छैनन्। यसले घरेलु बजार नेपालमा राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ । “मैले भन्ने शब्द केही छैन, हेर्ने दर्शकले दिइरहेका प्रतिक्रियाले मेहनतको सफलता पाएको आभास दिन्छ”, अभिनेता गिरीले भने।

यस्तै अर्को चलचित्र ‘छड्के–२’ प्रदर्शनमा आएको छ । यो ‘छड्के’ को दोस्रो शृङ्खला हो । यसमा अभिनेता अनमोल केसी फरक भूमिकामा प्रस्तुत छन्। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टर’ को कथामा निर्माण भएको छ । यसमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलान लगायतका कलाकारको अभिनय रहेको छ ।