मनोरञ्जन

सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा

२१ फागुन, सुन्दरहरैँचा । लामो समयदेखि बन्द अवस्थामा रहेको  विराट चोकको सुकुन् चलचित्र मन्दिर पुनः सञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त  हल  सञ्चालनमा आएको हो । सो हलमा  नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रवारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म  निर्माता चिरञ्जीवी बस्नेतले जानकारी दिए। उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सहयोग हुन जरुरी छ भने। 

तीन  लगानी कर्ताको रु चार करोडभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको निर्माता उनले बताए । सो हलमा एक सय ३० सिट क्षमता  छ । हललाई विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गरेका थिए ।

सञ्चालक बस्नेतले भने, “अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।” सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएको र  त्यो अभावलाई विराट सिनेले पूरा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल हुने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए।