अन्तर्राष्ट्रिय

अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ

२५ फागुन, संयुक्त । चीनले अमेरिकी ब्याङ्मा राखिएको अफगानिस्तानको रकम अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन् । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ स्वाङले अफगानिस्तानका महिला तथा बालबालिकाहरूको अधिकार र हितको रक्षा गर्न तत्काल अफगानी रकम फिर्ता दिनुपर्ने बताए।

अफगान केन्द्रीय बैंकसँग सम्बन्धित नौ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति अमेरिकाले रोक्का गरेपछि चिनियाँ कूटनीतिज्ञले रकम फिर्ताका निम्ति आह्वान गरेको हो । सन् २०२१ को अगष्टमा अतिवादी समूह तालिवानले काबुल कब्जा गरेर सत्ता सम्हालेपछि अमेरिकाले अफगानिस्तानको रकम रोक्का गरेको हो ।

न्युयोर्कको एक अदालतले गत महिना गरेको आदेशलाई उद्धृत गर्दै उपप्रमुख गेङले अफगानी सम्पत्ति रोक्का गर्नु अनुचित भएको बताए । अफगानिस्तानको केन्द्रीय बैंकले न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकमा यसअघि जम्मा गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर जफत गर्न नमिल्ने आदेशसहित दिएको थियो । दुई दशकअघि सेप्टेम्बर ११, २००१ मा न्यूयोर्कमा भएको आतङ्कवादी हमलाबाट पीडित परिवारको उक्त रकम जफत गर्नुपर्ने माग अस्वीकार गरेको थियो ।