अन्तर्राष्ट्रिय

अमेरिकी सभामुख ताइवानी राष्ट्रपतिलाई बुधबार भेट्दै

२१चैत्र, एजेन्सी । चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्ने भएको छ ।

ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा बुधबार ताइवानी नेताले सभामुख म्याकार्थीसँग यहाँबाट ६४ किलोमिटर पर अवस्थित रोनाल्ड रोगन पुस्तकालयमा द्विपक्षीय बैठक गर्ने सभामुखको कार्यालयले पुष्टि गरेको छ ।

गत साता न्युयोर्क हुँदै ग्वाटेमाला जाने क्रमममा त्यहाँ रहनुभएकी ताइवानी राष्ट्रपतिले त्यहाँस्थित हडसन इन्स्टिच्युटलाई सम्बोधन गरेका थिए।

ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी बेइजिङले दिएको छ । सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउनसक्ने बेइजिङले बताउँदै आएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले विदेश भ्राणका क्रममा राष्ट्रपति साई अमेरिकामा ‘ट्रान्जिट’मा बस्नु र उनले सभामुखलाई भेट्नु सामान्य हो भन्दै विगतमा पनि धेरै ताइवानी नेता अमेरिका भएर तेस्रो मुलुक प्रस्थान गरेका बताएका थिए ।

गत वर्ष पूर्वसभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो ।

सभामुख म्याकार्थीले वासिङ्टन डिसीबाट टाढा लस एञ्जलसमा ताइवानी नेतालाई भेट्न गरेको निर्णयलाई ताइवानको समर्थनलाई जोड दिएको र चीनसँगको तनाव भड्काउनबाट बच्न गरिएको विश्लेषण गरिएको छ ।

बाह्य दबाबले विश्वका विभिन्न मुलुकसँग सम्बन्ध कायम गर्ने ताइवानको सङ्कल्पमा कुनै बाधा नहुने राष्ट्रपति साईले अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरूलाई बताबताएका थिए। उनले आफू शान्त रहने, कसैसँग नझुक्ने र कसैलाई नउक्साउने पनि बताएका थिए ।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

राष्ट्रपति साईमाथि चिनियाँ दबाब यस्तो समयमा आएको छ जतिबेला ताइवानले अमेरिकासँगको सम्बन्धलाई अनौपचारिक रूपमा भए पनि सुदृढ गर्ने प्रयास गरेको छ ।

विश्लेषकहरूका अनुसार साईले सन् २०१६ मा राष्ट्रपति पद सम्हालेपछि बेइजिङले ताइपेईमाथि सैन्य, आर्थिक एवम् कूटनीतिक दबाब बढाएको छ । ताइवानका समर्थकलाई आफ्नो पक्षमा पारेको छ – यसैसाता होन्डुरसरलाई आफ्नो पक्षमा ल्याएझै ।

सन् १९७९ मा वासिङ्टनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेइको अन्तरराष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा वासिङ्टन उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली बताउँछन् ।

“विश्वमा एउटा मात्र चीन छ । ताइवान चीनको अविभाज्य भाग हो । हामी अमेरिकी पक्ष र ताइवानका अधिकारीहरूबीच हुने कुनै पनि औपचारिक भेटवार्ता र सम्पर्कको विरोध गर्दछौँ, यस्ता भटवार्ता र बैठकले अमेरिका र चीनबीचको सम्बन्धमा दीर्घकालीन असर पर्नेछ,” साईको निर्धारित बैठकलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

राष्ट्रपति साईका प्रवक्ता जेभियर चाङले “विश्वका प्रजातान्त्रिक मुलुकसँग विचारविमर्श एवम् भेटवार्ता गर्नु ताइवानको अधिकार हो । यसमा चीनले हस्तक्षेप गर्नुको कुनै अर्थ छैन” भनेका छन् ।
गत महिना होन्डुरसले ताइवानसँगको सम्बन्ध तोडेछि ताइपेइसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १३ मा झरेको छ । सोमबार बेलिजको भ्रमणका क्रममा ताइवानी राष्ट्रपतिले आफ्नो पक्षमा निरन्तर सहयोग गरेकामा मध्यअमेरिकी देशप्रति आभार व्यक्त गरे। साथै उनले चीनको उच्चारण नगरी तानाशाही शासनबाट आएको विस्तारवादी धम्कीको निन्दा गरे।