अन्तर्राष्ट्रिय

अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति न्युयोर्कमा

२१ चैत, न्युयोर्क । आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुगेका छन् । यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उहाँले वकिलहरूसँग परामर्श गरिरहेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । नायिका स्टर्मी डेनियलले भने आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन् ।

पूर्वराष्ट्रपतिको सुरक्षाका निम्ति गुप्तचर सेवाका अधिकारीले विशेष तयारी गरेका छन्भने अन्य सुरक्षा निकायले पनि म्यानहाटनस्थित अदालत बाहिर सम्भावित विरोधप्रदर्शनसमेतलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारेका छन् । उक्त अदालततर्फ जाने पैदलयात्री मार्गमा तगारा लगाइएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पलाई सङ्घीय जाँच ब्युरो (एफबिआई), न्युयार्क महानगरको कानुन कार्यान्वयन गराउने निकाय र अमेरिकाको सिक्रेट सर्भिसले सम्बद्ध निकायसँग समन्वय गरेका छन् ।

अभियोग सामना गर्न अदालतमा उपस्थित भएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफू निर्दोष रहेको बताने उनका वकिलहरूले बताएका छन् । त्यसअघि उनको औँठाछाप लिने, तस्बिर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ । यद्यपि उनलाइ हतकडी लगाइने छैन । अदालतमा उनलाई औपचारिकरूपमा अभियोग लगाइएपछि न्युयोर्क सिटी अदालतका एकजना न्यायाधीशले उनीमाथि लागाइएका अभियोगबारे जानकारी दिनेछन् ।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको मुद्दाको सुनुवाई कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन भने मुद्दा दर्तापछि चुनिने न्यायाधीशबाट अन्य विवरण प्राप्त हुनसक्नेछ । बुधबार अदालतले उनलाई धरौटीमा रिहा गर्ने अनुमान गरिएको छ ।

वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले गत साता उनलाई फौजदारी अभियोग लगाएको थियो । ट्रम्पले केही साताअघि आफू पक्राउ पर्नसक्ने बताएका थिए । अन्ततः पक्राउबाट जोगिन उनी अदालतसमक्ष आत्मसमर्पण गर्ने निष्कर्षमा पुगेका थिए । म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उनका वकिलसँग सम्पर्क एवम् समन्वय गरेका थिए ।

अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । छयत्तर वर्षीय ट्रम्पले म्यानहाटन जिल्ला अधिवक्ता एल्भिन ब्रागको कार्यालयमा आत्मसर्पण गरेपछि अदालतमा उपस्थित गराइने छ ।