अन्तर्राष्ट्रिय

श्रीलङ्काका इस्टर सन्डे पीडितलाई न्याय दिइनेः राष्ट्रपति

२६ चैत, कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार सन् २०१९ मा भएको इस्टर सन्डेका सबै पीडितलाई न्याय दिने आश्वासन दिएका छन् । उनले त्यसका निम्ति सबै कानुनी प्रक्रिया अघि बढिरहेको बताएका छन् । कोलम्बो गजेटका अनुसार घटनाको स्वतन्त्र र निष्पक्षरूपमा घटनाको छानबिन गरिने छ ।

आफ्नो इस्टर आइतवार सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले आक्रमणबाट भएको पीडाबारे आफू सचेत रहेको बताउँदै उक्त दुःखद घटनाको अनुसन्धान स्वतन्त्र र निष्पक्षरूपमा अघि बढिरहेको बताएका छन् ।

श्रीलङ्काका राष्ट्रपतिले यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी देशको सुरक्षा सुनिश्चित गर्न आफ्नो अटल प्रतिबद्धता व्यक्त गरेका छन्। 

“सबै पीडितलाई न्याय सुनिश्चित गर्न यस उद्देश्यका लागि आवश्यक आधार तयार गरिएको छ । म त्यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी हाम्रो देशको सुरक्षा सुनिश्चित गर्न मेरो अटल प्रतिबद्धताको प्रतिज्ञा गर्दछु”, राष्ट्रपतिले भने। आफ्नो सन्देशमा राष्ट्रपतिले सरकार जात, धर्म, पार्टी वा रङ्गको भेदभाव नगरी सबै श्रीलङ्काली जनताहरूको आकाङ्क्षा पूरा गर्न समर्पित रहेको पनि उल्लेख गरेका छन् । 

“मलाई दृढ विश्वास छ हामी निकट भविष्यमा यी चुनौती पार गर्न सक्छौँ”, राष्ट्रपतिले भने । श्रीलङ्काली साझा एजेन्डामा एकजुट हुने, साँघुरो राजनीतिक उद्देश्य र प्रतिगामी प्रवृत्तिलाई परास्त गर्दै त्योभन्दा माथि उठ्ने विश्वास व्यक्त गरेका छन् । 

अप्रिल २१ मा क्रिस्चियन समुदायले इस्टर सन्डे मनाउने क्रममा श्रीलङ्काका कोलम्बो, नेगोम्बो, कोच्चिकेडे र बट्टिकालोआलगाययतका आहरमा आठवटा विस्फोटन भएका थिए । उक्त शृङ्खलाबद्ध विस्फोटमा ११ भारतीयसहित कम्तीमा दुई सय ५० जनाको मृत्यु भएको थियो भने पाँच सय भन्दाबढी घाइते भएका थिए । मृत्यु हुनेमा कम्तीमा ४० विदेशी नागरिक र कम्तीमा ४५ बालबालिका रहेको बताइएको छ ।