राजनीति

पुनः निर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ : प्रधानमन्त्री

१२ बैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन् ।

गोरखा भूकम्पको स्मृतिका अवसरका आज सन्देश दिदै प्रधानमन्त्रीले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसके पनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएा छन् ।

प्रधानमन्त्री दाहालले भनेका छन्, “यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु । सरकारको प्राथमिकतामा सदाझैँ सम्पूर्ण नेपालीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु ।”

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाउनुहुने नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति प्रधानमन्त्रीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यस्तै, मृतकका आफन्तप्रति गहिरो समवेदना प्रकट गरेका छन् । भूकम्पका कारण घाइते एवं अङ्गभङ्ग हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामनासमेत प्रधानमन्त्रीले गरेका छन् ।

भूकम्पपछि २०७३ सालमा गठित आफ्नो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण, निजी घरको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको प्रधानमन्त्रीले स्मरण गरेका छन् । उनले त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर रु एक लाख अनुदान रकम थप गर्नेलगायत जनतालाई राहत दिन महत्वपूर्ण निर्णय भएको प्रधानमन्त्रीले बताएका छन् ।