समाचार

युवालाई स्वदेशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भन्ने तालिम

६ जेठ, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला सुरु भएको छ । नगरपालिका परिसरमा सञ्चालित मेलामा नगरप्रमुख मीठाराम अधिकारीले उद्घाटन गरे।

नगरप्रमुख अधिकारीले युवालाई देशमै केही गरौँ भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “युवा विदेश पलायन भइरहेका छन् । अध्ययनका लागि गएका युवाहरु फर्किएर नेपालमै काम नगरेको अवस्था छ । युवालाई स्वदेशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भन्ने उत्प्रेरणा दिने उद्देश्यले नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।”

नगरपालिका उपप्रमुख अनिता लामाले नगरका युवालाई स्वरोजगार बनाउन गर्न र युवाशक्तिलाई देशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए ।

उनले ज्ञान, सीप, क्षमता भएका युवालाई नयाँ कामको खोजी गर्न मेलाबाट सहज हुने धारणा राखे । उपप्रमुख लामाले नगरको आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा शिक्षालाई प्रथामिकता दिँदै स्वरोजगारका समस्या समाधानका मागलाई सम्बोधन गर्ने तयारी गरेको जनाए।

नगरपालिका प्रवक्ता नवराज भट्टराईले मेलाको पहिलो दिन पाँच हजार पाँच सयभन्दा बढी युवा मेलामा सहभागी भएका जानकारी दिए । उनले जेठ ६ र ७ गते दुई दिन सञ्चालन हुने मेलामा नगरले आकलन गरेका भन्दा धेरै युवाले सहभागिता जनाउन सक्ने अनुमान गरेको बताए ।