आर्थिक

सिडेनको अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन् ।

सिडेनको सातौँ कार्यकारिणी समितिका लागि शनिबार भएको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा इन्जिनियर चेतनाथ पाण्डेलाई पराजित गर्दै केसी निर्वाचित भएक हुन्  ।

अध्यक्ष केसीले एक हजार छ सय १९ मत र पाण्डेले एक हजार ६२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शुक्रराज पौडेलले जानकारी दिए। 

यस्तै, उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमनबहादुर खड्का, उपमहासचिवमा सुशील लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यमा उपेन्द्र महरान, राहुल मिश्र, जगदीश नेपाल, सन्दीप वाग्ले, नवीन बस्नेत, दीपक पौडेल, शेखरनाथ चापागाईं, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थी विजयीभएको निर्वाचन अधिकृत पौडेलले बताए ।

नवनिर्वाचित अध्यक्ष केसीले सन् २०१० मा संयुक्त राज्य अमेरिकाको मानोआस्थित हवाई विश्वविद्यालयबाट सिभिल र पर्यावरण इञ्जिनियररिङमा स्नातकोत्तर गरेका छन् । उनी नेपाल एकीकृत अनुसन्धान तथा विकास प्रतिष्ठानको कार्यकारी निर्देशकसमेत छन् ।

सन् २०१२ मा इन्जिनियर एन्ड प्लानर्स प्रालिको प्रबन्ध निर्देशक हुनुभएका उनले विश्व बैंकमा समेत काम गरिसकेका छन्  । नेपाल इञ्जिनियरिङ कलेजमा प्राध्यापनसमेत गर्नुभएका उनले विभिन्न इन्जिनियर संस्थामा रहेर काम गरिसकेका छन् ।

सिडेनका संस्थापक नेता केसीले सन् २०१८ देखि २०२० सम्म केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका थिए । केसी नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वकेन्द्रीय सदस्यसमेत छन् ।

सिडेनको सातौँ कार्यकारिणी समितिका लागि शनिबार सङ्घीय राजधानी काठमाडौँसहित सातै प्रदेशमा निर्वाचन भएको थियो । नवनिर्वाचित अध्यक्ष केसीले इन्जिनियरको हक, अधिकारका क्षेत्रमा काम गर्दै सिडेनलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्ने बताए । सिडेनको निर्वाचन प्रत्येक दुई वर्षमा हुँदै आएको छ ।