पर्यटन/संस्कृति

‘पर्यटन क्षेत्रको विकासका लागि सहकार्य जरुरी’

२४ जेठ, काठमाडौँ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सहकारबीच सहकार्य जरुरी रहेको बताएका छन् । हिमालय उद्धार सङ्घको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्छ भने।

“सरकार नपुगेको हिमाल र पर्वतारोहण क्षेत्रमा पुगेर हिमालय उद्दार सङ्घले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, यस्ता संस्थालाई सरकारको तर्फबाट साथ र सहयोग रहन्छ,”–उनले भने। नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले देशको पर्यटन क्षेत्रको विकासका लागि यससँग सम्बन्धित सङ्घ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए। उनले सरकारले अगाडि सारेको सम्पदा घुमौ अभियानलाई अगाडि बढाउन सबै क्षेत्रको साथ र सहयोग रहेको बताए।

हिमालय उद्दार सङ्घका निवर्तमान अध्यक्ष हरि धरेलले नेपालको पर्वतारोहण क्षेत्रमा जाने पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सङ्घले सोलुखुम्बुको फेरिचेमा स्वास्थ्यचौकी स्थापना गर्न लागेको बताए।
सङ्घको अध्यक्षमा पराजुली हिमालय उद्धार सङ्घको यही जेठ २१ गते सम्पन्न अधिवेशनबाट डम्बर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । सङ्घको उपाध्यक्षमा कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री र कोषाध्यक्षमा सुशीलकृष्ण अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले जानकारी दिए।

यस्तै, सदस्यमा दावा शेर्पा, विकास रौनियार, प्रयुश न्यौपाने, तुलसिंह गुरुङ, सुवास दवाडी वारिस धरेल र यादव अधिकारी निर्वाचित भएको छ । उक्त कार्यसमिति तीन वर्षका लागि सर्वसम्मत निर्वाचित भएको हो