अन्तर्राष्ट्रिय

बङ्गलादेशमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ घाइते

२४ जेठ, ढाका । बङ्गलादेशको सिलेट जिल्लामा बुधबार ट्रक र पिकअप भ्यान एकआपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनले दुर्घटनाको पुष्टि गर्दै भने, “दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्वमा रहेको सो जिल्लामा स्थानीय समयअनुसार बिहान ६ः ०० बजे भएको सडक दुर्घटनामा परी केही मजदुर गम्भीर घाइते भएका छन् ।

घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको र दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको उनले बताए।

बङ्गलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ । कमजोर राजमार्ग, खराब सवारी साधन, चालकहरूले ट्राफिक नियमको उल्लङ्घन गर्नु र ट्राफिक विभागको अनुगमनको कमी हुनु यहाँको दुर्घटनाको मुख्य कारण हुने गरेका छन् ।

बङ्गलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल फित्र पर्वको दौडान अप्रिल १५ देखि अप्रिल २९ सम्म ३०४ वटा सवारी दुर्घटनामा परी ३२८ जनाको मृत्यु भएको छ भने ५६५ जना घाइते भएका छन् ।