ब्रेकिङ न्युज

दिनभर किन रोकियो मतदान ? रास्वपाले साँझ साढे ७ बजेको समय तोक्यो

१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज साँझ साढे ७ बजेदेखि सुरु हुने भएको छ।

यसअघि बिहान ९ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका भए पनि निर्वाचन प्रक्रियासम्बन्धी तयारी पूरा गर्न समय लागेका कारण मतदान निर्धारित समयमा सुरु हुन सकेको थिएन । दिनभरको प्रतीक्षापछि पार्टीले नयाँ समय तय गर्दै साँझ साढे ७ बजेदेखि मतदान सञ्चालन गर्ने जनाएको हो।

पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको जानकारी दिँदै दाबी–विरोधका लागि साँझ ५ बजेसम्मको समय छुट्याइएको बताए। त्यसपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा भइरहेको छ भने सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

असार ७ गतेदेखि सुरु भएको महाधिवेशन ९ गतेभित्र सम्पन्न गर्ने तयारी रहे पनि निर्वाचन प्रक्रिया लम्बिँदा कार्यक्रमको अवधि थपिएको छ। पार्टीले आवश्यक परे दोस्रो चरणको मतदान भोलि बिहान ९ बजेदेखि सञ्चालन गर्न सकिने अनुमान गरेको छ।

रास्वपाको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको निर्वाचनलाई पार्टीभित्र चासोका साथ हेरिएको छ।