अन्तर्राष्ट्रिय

पाकिस्तानको कराँचीमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु

२६ जेठ, एजेन्सी । गत पाँच महिनामा पाकिस्तानको कराँचीमा सडक अपराध र गोलीबारीका घटनाहरूमा ६१ जनाको मृत्यु भएको छ । पाकिस्तानी स्थानीय मिडिया अवामी आवाजका अनुसार मे महिनामा कराँचीमा ७,८४३ सडक अपराधका घटनाहरू उल्लेख गरिएको छ ।
दुई दिनअघि कराँचीको गुलसन इकबालस्थित कामरान चौरङ्गीमा मोटरसाइकलमा आएका लुटेराहरूले विश्वविद्यालयको एउटा गाडी रोकेर त्यसमा सवार विद्यार्थी र शिक्षकलाई बन्दुक देखाएर लुटेर फरार भएका थिए ।
अवामी आवाजका अनुसार कराँचीमा खस्किदो सुरक्षा व्यवस्था सिन्ध पुलिस र सिन्ध सरकारका लागि ठूलो चुनौती बनिरहेको छ।
यसैबीच, पाकिस्तानी स्थानीय मिडियाले हालै उल्लेख गरेअनुसार पाकिस्तानले आफ्नो आर्थिक सङ्कट झेलिरहेको बेला अपराध झन् बढिरहेको छ। जनताले दैनिक उपभोग्य वस्तु धान्न सकेका छैनन् भने भोकमरी बढ्दै गएको छ ।
शैक्षिक संस्थामा हुने निराशा र असन्तुष्टिले गर्दा युवा पुस्ता लागुऔषध दुव्र्यसनीको शिकार बन्दै गएका छन् ।
पाकिस्तानमा हरेक दिन १,२०० युवा धुम्रपानको लतमा फसेका छन् र हरेक वर्ष झण्डै एक लाख मानिसहरूको यसबाट मृत्यु हुने गरेको छ । दैनिक ५ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना हुने गरेको पाकिस्तानी स्थानीय सञ्चार माध्यम डेली खबरले लेखेको छ ।
पाकिस्तानले खाद्य सङ्कट, पैसाको अवमूल्यन, बिजुलीको अभाव लगायत कारणबाट हाल सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ।