समाचार

शैक्षिक मेलामा काठमाडौं महानगरको एक्सन, कक्षहरू हटायो

३२ जेठ, काठमाडौं । नतिजा प्रकाशनपूर्व नै विभिन्न तहको भर्नाका लागि शैक्षिक मेला आयोजना गरेको भन्दै काठमाडौँ महानगरपालिकाले प्रदर्शन कक्षहरू हटाएको छ ।

माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आजदेखि भृकुटीमण्डपमा सुरु गरेको उक्त मेला सञ्चालनको उपयुक्त समय अहिले नभएको भन्दै कामपाले उक्त स्थानमा राखिएको प्रदर्शन कक्षहरू हटाएको हो । कामपाको शिक्षा विभागका अधिकारी र नगर प्रहरीको संयुक्त प्रयासमा त्यहाँ रहेका कक्षहरू हटाइएको हो ।  

कामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका लागि तान्ने उद्देश्यले मेला आयोजना गरेको भन्दै महानगरले बन्द गराएको हो ।

परीक्षाको नतिजा नै प्रकाशित नभएको अवस्थामा मेलामार्फत विद्यार्थी र अभिभावकलाई झुक्याउने र लोभ्याउने काम भएपछि मेला हटाउनुपरेको प्रमुख कोइरालाको भनाइ छ ।  

एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राखिएको मेला उपयुक्त समयमा सञ्चालन नभएको कामपाले बताएको छ । 

मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका थिए । मेला आगामी असार ३ गतेसम्म सञ्चालन गर्ने उद्देश्यसहित सुरु गरिएको थियो । कामपाले यसअघि नै यी र यस्ता गतिविधि सञ्चालन नगर्नका लागि सम्बद्ध निकायलाई आग्रह गर्दै आएको थियो । त्यसैगरी शिक्षासँग सम्बन्धित विभिन्न जानकारी दिने उद्देश्यसहित बाँड्ने पर्चाको पनि कामपाले नियन्त्रण गर्दै आएको छ ।  

शैक्षिक मेला जारी रहन्छ– हिसान

काठमाडौँ महानगरपालिकाले भृकृटीमण्डपमा जारी चारदिने शैक्षिक मेला ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’ रोक्न निर्देशन दिए पनि आयोजकले केन्द्र सरकारको सम्बन्धित निकायसँगको अनुमतिप्राप्त भएकाले मेलालाई निरन्तरता दिने जनाएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आजदेखि सुरु भएको सो मेलाले माध्यमिक शिक्षा परीक्षा कक्षा १० र १२ को परीक्षाको परीक्षाफल प्रकाशन नभएको समयमा विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न खोजेको भन्दै रोक्नका लागि आज दिउँसो कार्यक्रमस्थलमा महानगरपालिकाका सुरक्षाकर्मी पुगेका थिए ।

हिसानका अध्यक्ष रमेश सिलवालले आफूहरू कानूनतः दर्ता भई सञ्चालनमा रहेको, नियमानुसार राजस्व तिरेको र मेलाबारे केन्द्र सरकारका सम्बन्धित निकायबाट स्वीकृति लिएको तथा महानगरपालिककालाई जानकारी दिइएकाले स्थगन नगर्ने बताए । उनले मेलामा हस्तक्षेप गर्ने अधिकार महानगरपालिकालाई नभएको जिकिर गरे । सो मेलाको उद्घाटन प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।