समाचार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा फेरि समस्या, अस्पताल भर्ना

२ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर (महाराजगन्ज) मा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

हृदयाघात भएर शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) मा भर्ना भएका उनी गत बुधबार मात्र ‘डिस्चार्ज’ भएका थिए।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार गंगालालमा भर्ना भएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो।

त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो।

अहिले फेरि मुटुको चाल केही कम तथा कमजोरी महसुस भएकाले उनलाई अस्पताल (मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर) लगिएको बताइएको छ।

यसअघि राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।