समाचार

पूर्वाधारलाई मुलुकको समृद्धिसँग जोड्नुपर्छ : मुख्यसचिव

७ असार, काठमाडौं । मुख्यसचिव डा वैकुण्ठ अर्यालले पूर्वाधारलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । गाउँबेँसी नेटवर्कले प्रकाशन गरेको ‘पूर्वाधार समृद्धि’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पूर्वाधारलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताए ।

उनले पुस्तकमा उल्लेख गरिएको लेखले मुलुकको विकासमा योगदान पु¥याउनाका साथै नीति निर्माणमा पनि सहयोग पुग्ने बताए । मुख्यसचिव डा अर्यालले भोलिका दिनमा अनुसन्धानात्मक लेखहरूलाई विशेष प्राथमिकताका साथ समेट्न सुझावसमेत दिए । “पूर्वाधार क्षेत्रका खबर समेटिने अनलाइन पोर्टल र पत्रिकाको आवश्यकता रहेको छ”, उनले भने, “भोलिका दिनमा नीति तथा कार्यक्रम बनाउन सहयोगी हुने गरी म्यागेजिनका विषयवस्तुको गुणस्तरलाई सुधार गर्दै तथ्याङ्कसहितको बनाउन सुझाव दिन्छु ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटाले पूर्वाधारका सबै क्षेत्र समेटिने गरी सार्वजनिक गरिएको पुस्तकले सरकारका लागि पनि महत्त्वपूर्ण दस्तावेज भएको बताए । 

उनले पुस्तकले आउनु पत्रकारिताको विकासका लागि राम्रो भएको हुँदा आगामी दिनमा अझै खोजमूलक बनाउनुपर्नेमा जोड दिए। 

भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले पूर्वाधार क्षेत्रलाई नै समेटिएको पूर्वाधार समृद्धि पहिलो पुस्तक भएको बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले स्रोतको कारणले पूर्वाधार विकास चुनौतीपूर्ण रहेको बताए । 

पुस्तकका लेखक प्रभाकर घिमिरेले पुस्तकमा समेटिएका सामग्रीहरूमा समस्याको उजागर गरिएकाले आगामी दिनमा समाधानका उपाय पनि समेटिने बताए । 

नेपाल पूर्वाधार डटकम एवं पूर्वाधार समृद्धि पुस्तकका सम्पादक गौतमले दुई सय पृष्ठको पुस्तकमा विभिन्न शीर्षकमा ५९ वटा लेख समेटिएको बतााए । 

गाउँबेँसी नेटवर्कका सञ्चालक शङ्कर बस्यालले सबैको सुझावका आधारमा अघि बढ्ने बताए ।