१४ असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताए ।
अध्यक्ष ओलीले भने, “कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौँ ।” पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताए ।
अर्को एक प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताए । उनले भने, “आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको हो ।” यस विषयमा संसद् र सञ्चारमाध्यममा केही दिन चर्चा भएको भन्दै उनले भने, “एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको छ । अलिक दिन त्यसले पनि मार्केट पायो ।” केही दिनपछि ११ किलो सुन कहाँ गयो ? भन्ने प्रश्न आएको भन्दै उनले प्रतिप्रश्न गरे, “यो मेरो विषय हो र तपाईंहरुले मलाई सोधेको ?”
असार १५ असारमा धान दिवस मनाउन यहाँ आउनुभएका ओलीलाई धान दिवस मनाउन चितवन नै किन रोज्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा भने, “राम्रो धान फल्ने जिल्ला भन्ने सुनेको छु, कृषिलाई आधुनिकीकरण गर्नुपर्यो, कृषि विश्वविद्यालय यही छ । विश्वविद्यालयले कृषिको विकासका लागि योगदान गर्नुपर्यो ।” यहाँको जमिन उर्वर भएको भन्दै उनले यसलाई अधिकतम प्रयोग गर्नुपर्ने बताए ।
राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए ।
उनले भने, “हामी अस्थिरताको खेलमा छैनौँ । मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।” रास्वपा अहिले सङ्गठन निर्माणका क्रममा रहेको उनको भनाइ थियो । सङ्गठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उनले बताए।
फरक प्रसङ्गमा उनले सरकारले ल्याएको बजेट पास भए पनि यसले जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी गरे। उनले भने, “अहिले मुलुकको जुन अवस्था छ । अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना थियो । तर त्यो हुन सकेन ।” बजेट संसद्बाट पास हुनुलाई स्वाभाविकरुपमा लिएको बताउँदै उनले अहिलेको बजेट नियमित बजेट जस्तो भएको बताए ।
उनले थपे, “अहिलेको बजेटबाट व्यापारी, वैदेशिक दातृ निकायलगायतका संस्था खुसी हुन सकेका छैनन् ।” इतिहासमा पहिलो पटक मतदानबाट बजेट पास भएको बताउँदै उनले नागरिकको आवश्यकता सम्बोधन गर्न सरकारलाई आग्रह गरिरहने बताए।





