स्वास्थ्य

बाँकेमा अझै आएन ‘लम्पी स्किन’ को खोप

नेपालगञ्ज १८ असार । बाँकेमा अहिलेसम्म ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध भएको छैन । सो सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशु मरिसकेका छन् । जिल्लामा करिब सात हजार पशु सङ्क्रमित भएका छन् ।

पशु पालक किसान समयमा खोप नपाउँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य छन् । केही किसानले निजीस्तरबाट खोप लगाएको तर जिल्लामा खोप अझै नआएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका पशु चिकित्सक रूपेन्द्रकुमार ओलीले बताए ।

उनले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएकाले रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिए । कतिपय पशुपालक कृषकले स्थानीय सरकारमा रहेको पशुसेवा केन्द्रमार्फत पनि सुविधा लिएको उल्लेख गर्दै पशु चिकित्सक ओलीले सङ्घीय सरकार, प्रदेश सरकारबाट खोप नआएको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकासहित आठ स्थानीय तहमा सो भाइरसको सङ्क्रमण देखिए पनि राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ । नेपाल भेटेरिनरी एशोसियशनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै किसानको पशुबाट दूधको उत्पादन घट्दै गएको बताए ।

उनले पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, पशुलाई श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिए । सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिकरूपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवाजातवमा कडाइ गरेर पनि यसको न्यूनीकरण हुन सक्ने डा न्यौपानेले सुझाव दिए । एउटा रोगी पशुलाई लामखुट्टे, झिङ्गा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्ने बताइएको छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजार हाराहारीमा गाई रहेका छन् ।