स्वास्थ्य

कर्मचारी मृत्यु प्रकरणमा टिचिङ अस्पतालका प्रशासन प्रमुखसहित ४ जना पक्राउ

२९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भएको एक कर्मचारीको मृत्युबारे अनुसन्धानका लागि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आत्महत्या दुरुत्साहनको कसूरमा प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई पक्राउ गरेको हो ।

परिवारको जाहेरीले पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको छ । शुक्रबार बिहान साढे ८ बजेतिर अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । त्यसक्रममा सुसाइड नोट पनि फेला परेको थियो ।

प्रहरीका अनुसार पोखरेलसहित ७ जना कर्मचारीलाई बिहीबार मात्रै स्पष्टीकरण सोधिएको थियो । औषधिमा हिनामिना गरेको आरोपमा प्रशासन प्रमुख बस्नेत समेत भएको समितिले छानबिन गरिरहेको थियो । छानबिन भइरहेको बेला उनी मृत फेला परे ।

दुई वटा पानामा भएको सुसाइड नोटमा पनि उनले आफूलाई फसाउन खोजिएको जिकिर गरेका छन् । ‘आफूले गल्ती गरेर मलाई फसाउन खोज्ने, ब्ल्याकमेल गर्नेहरुको जय होस्’, उनले भनेका छन् ।