समाचार

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान, यस्तो छ भ्रमण तालिका

६ साउन, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आज इटाली प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरे ।

यस्तै नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, अन्य नेता तथा कार्यकर्तालगायतले उनलाई भ्रमण सफलताको कामना गर्दै बिदाइ गरे । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत प्रदान गरेको थियो ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा उनको स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन् ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ ।

प्रधानमन्त्री दाहालले यही साउन ८ गते सो कार्यक्रमको उद्घाटनसत्रमा सहभागी हुने छन् । यस्तै अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुने छन् । यसैगरी उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुने छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ । यस्तै रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तक्र्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् । भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।