अन्तर्राष्ट्रिय

इरानको दक्षिणपूर्वी क्षेत्रमा चार प्रहरीको गोली हानी हत्या

एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा पाकिस्तानसँग सीमा जोडिएको अशान्त क्षेत्रमा आइतबार आक्रमणकारीले गस्तीमा गोली चलाउँदा चार जना इरानी प्रहरीको मृत्यु भएको छ ।

सरकारी समाचार संस्था आईआरएनएका अनुसार प्रहरीको गस्ती टोलीमाथि भएको ‘आतङ्कवादी’ आक्रमणमा परी तीन जना प्रहरी मारिएका छन् ।

सरकारी टेलिभिजनका अनुसार चौथो व्यक्तिको उपचारका क्रममा पछि अस्पतालमा मृत्यु भएको थियो । आक्रमणको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।

गरिब सिस्तान–बलुचिस्तान प्रान्तमा भएको अशान्तिमा लागुऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादी समूह संलग्न छन् ।

गत जुलाई ८ मा जिहादी जैश अल–अदल समूहले गरेको आक्रमणका क्रममा उक्त प्रान्तमा दुई प्रहरी र चार आक्रमणकारीको मृत्यु भएको थियो ।

गत मे महिनामा सिस्तान–बलुचिस्तानको प्रान्तीय राजधानी जाहेदानको दक्षिणपूर्वमा रहेको सरवनमा सशस्त्र समूहसँग भएको झडपमा पाँच जना इरानी सीमा रक्षकको मृत्यु भएको थियो ।

सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमण ‘देशमा घुसपैठ गर्न खोज्ने एक आतङ्ककारी समूहले’ गरेको थियो तर उसका सदस्यहरू घाइते भएपछि घटनास्थलबाट भागेका थिए ।