पत्रपत्रिका

एलपी ग्यासको आयात घट्यो

१३ साउन, काठमाडौं । गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपैयाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपैयाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।

गत आवमा ६५ अर्ब ५५ करोड ९७ लाख चार हजार रुपैयाँ बराबरको पाँच लाख ३५ हजार ८६५ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा ग्यासको आयात परिणाम र परिमाण दुवैमा कमी आएको विभागको तथ्याङ्क छ ।

एक वर्षमा बजारमा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ । नेपाल आयल निगमका अनुसार मासिक ग्यासको खपत ४२ हजार ६८१ मेट्रिक टन हुने गरेको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको जानकारी दिए ।

विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको उनको भनाइ छ । गोरखापत्र दैनिकमा समाचार छ ।