राजनीति

सुन तस्करीमा सरकार आफूलाई बचाउने, अरुलाई फसाउने काम गरिरहेको ओलीको आरोप

१३ साउन, राँझा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रन सम्भव नभएको बताएका छन् ।

बाँकेको नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलाको सम्बोधन गर्दै शनिबार एमाले अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफूहरूलाई बचाउने अरुलाई फसाउने काम गरिरहेको आरोप लगाए ।

उनले अघि भने, “एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन सक्छ । त्यहाँका मान्छे, मेसिन सुतेका बेला त्यो सुन भित्रिएको हो र !”

अध्यक्ष ओलीले सत्ताधारी दलले देश लुटिरहेको आरोपसमेत लगाए । गठबन्धनका नाममा सत्तारुढ दलले कुनै पनि सार्थक काम गर्न नसकेको आरोप लगाए ।

ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्ने बताएका छन् । एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिका लागि नेपालगन्जमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभई शालिनता हुनुपर्दछ ।”

अहमता र घमण्डलाई त्यागेर जनप्रतिनिधिले शालिनताका साथ जनताको सेवामा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा हरेक तहमा ५१ प्रतिशत जनताको मत हासिल गर्ने गरी एमाले अगाडि बढेको बताए ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि सहभागी प्रशिक्षण कार्यक्रममा उनले जनप्रतिनिधिलाई सार्वजनिक सम्पत्तिको रक्षा गर्दै जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहको अधिकतम् उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष विष्णु पौडेल, पार्टी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललगायत जनप्रतिनिधिले जनताको काम सहज तरिकाले गरेर पार्टीलाई मजबुत बनाउन ध्यान दिनुपर्ने बताए ।