राजनीति

कांग्रेसको काँधमा मुलुक र जनताको हितमा काम गनुपर्ने जिम्मेवारी छ : प्रमुख सचेतक लेखक

१३ साउन, महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसलाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी आएको बताएका छन् ।

नेपाली कांग्रेस भीमदत्त नगर समितिको सम्मेलन उद्घाटनका क्रममा उनले जनचाहनाअनुसारको विकास र समृद्धिका लागि कांग्रेस अघि बढेको बताए । “देश र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि कांग्रेस प्रत्येक ठाउँमा सुदृढ हुन जरुरी छ”, नेता लेखकले भने, “केन्द्रीय कार्यसमितिमात्रै सुदृढ भएर होइन, गाउँ–टोलमा पनि कांग्रेस सुदृढ हुन जरुरी छ ।”

कांग्रेस सुदृढ गर्नकै लागि कांग्रेसले देशभर पालिकास्तरमा सम्मेलन गरिरहेको उनको भनाइ थियो । नेपाली कांग्रेस कुनै कारणले कमजोर हुनुपर्ने अवस्था नभएको बताउँदै उनले मुलुकमा ठूला परिर्वतन र ऐतिहासिक काम कांग्रेसकै नेतृत्वमा भएको स्मरण गराए ।

“दशवर्षे सशस्त्र द्वन्द्वमा जनजीवन अस्तव्यस्त भएका बेला कांग्रेसले वार्ता, संवाद र सहमतिका माध्यमबाट शान्ति ल्यायो”, उनले भने, “मुलुकमा आवश्यकता परेका बेला संविधान पनि कांग्रेसकै नेतृत्वमा आएको थियो ।”

उनले कञ्चनपुरमा नेपाल–भारत त्रिदेशीय नाका, दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोर र मझगाउँ विमानस्थल निर्माणको काम अघि बढेको बताए । “विसं २०७४ मा कांग्रेस हार्दा यहाँ महाकाली करिडोरमा पर्ने रुख कटानको निर्माणसमेत हुन सकेन्”, उनले भने, “यहाँ अल्झिएका हरेक विकासका काम त्यो बेला अघि बढ्न सकेनन् ।”