राजनीति

निर्वाचन आयोगले १५ हजार जरिवाना गर्नु गैरकानुनी भन्दै रास्वपाका सांसदले दिए रिट

१४ साउन, काठमाडौं । निर्वाचन आयोगविरुद्ध रास्वपाका ४ जना सांसदले उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

आफूहरुले कानुन अनुसार निर्वाचन खर्च विवरण बुझाउने र सार्वजनिक गर्ने गरिसक्दा पनि १५ हजार रुपैयाँ जरिवाना गरेको भन्दै रास्वपाका सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले अदालतमा रिट दिएका हुन् ।

रिटमा आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्नेमा प्रक्रिया पूरा नगरी कारबाही गरेको उनीहरुले उल्लेख गरेका छन् ।

त्यस्तै, उनीहरुले आफूहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले त्यसलाई बदर गर्न माग गरिएको छ ।