अन्तर्राष्ट्रिय

धूमपानविरुद्धको अभियानमा मात्र चार राष्ट्रको साथ: डब्ल्यूएचओ

१५ साउन, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी सबै उपाय ती देशले अपनाएका उक्त संस्थाले सोमबार बताएको छ ।

पछिल्लो एक प्रतिवेदनअनुसार डब्ल्यूएचओले आफ्ना सदस्य सबै राष्ट्रलाई सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न,सूर्ति र सुर्तीजन्य उत्पादनको विज्ञापनमा प्रतिबन्ध लागू गर्र्न, चुरोटका बट्टामा स्वास्थ्य चेतावनी जारी गर्न, सुर्तीजन्य कर बढाउने र यो घातक अम्मल छोड्न चाहनेहरूलाई सहयोग गर्न सुझाएकामा त्यसको ब्राजिल र टर्कीले पालना गरेकामा अब मरिसस र नेदरल्यान्ड्स त्यसमा थपिएका छन् । चारवटै देशले डब्ल्यूएचओका सुर्तीविरोधी सबै सिफारिस कार्यान्वयन गरेको छ ।

डब्ल्यूएचओले पाँच अर्ब ६० करोड मानिस अब कम्तिमा सुर्ती नियन्त्रणको एउटा उपायद्वारा सुरक्षित भएको बताएको छ भने सन् २००७ मा अभिलेख गरिएको २२.८ प्रतिशत धूमपानको दर २०२१ मा १७.० प्रतिशतमा झरेको बताएको छ । यो कमी नभएको भए अहिले ३० करोड थप गर्नेहरू हुने थिए ।

“बिस्तारै तर धेरै मानिस सुर्तीजन्य पदार्थको हानिबाट जोगिएका छन्,” डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भनेका छन् । डब्ल्यूएचओ सुर्तीजन्य पदार्थको प्रकोपबाट जोगाउने राष्ट्रिय प्रयासमा सघाउन तत्पर रहेको पनि उनले उल्लेख गरेका छन् ।