अन्तर्राष्ट्रिय

दालतको फैसला नभएसम्म संसदमा प्रधानमन्त्री चयन प्रक्रिया रोक्न आदेश

१८ साउन, एजेन्सी । थाइल्याण्डको संसदले मुभ फरवार्ड पार्टी (एमएफपी) का नेता पिता लिम्जारोएनाटको पुनः मनोनयनसम्बन्धी अदालतको फैसला नआएका कारण नयाँ प्रधानमन्त्री चयनका लागि आसन्न मतदान स्थगित हुने बिहीबार जनाएको छ ।

प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी उजुरी र लोकपाल कार्यालयले चयन स्थगन गर्न गरेको अनुरोधमा संवैधानिक अदालतले निर्णय नगरेकाले शुक्रबारका लागि तय भएको मतदान स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष वान मोहम्मद नूर माथाले जानकारी दिए ।

यद्यपि, थाइल्याण्डको संविधानको धारा २७२ मा संशोधन गर्न एमएफपी सदस्यहरूले दायर गरेको याचिकामाथि विचार गर्न दुई सदनात्मक संसदको संयुक्त बैठक शुक्रबार बस्नेछ, जसको उद्देश्य सिनेटरहरूलाई प्रधानमन्त्री चयनमा भाग लिनबाट वञ्चित गर्नु हो ।

थाई संविधानको धारा २७२ अनुसार प्रधानमन्त्री पदका लागि उम्मेदवार बन्नका लागि दुई सदनात्मक संसदको आधाभन्दा बढीको अनुमोदन आवश्यक पर्छ, जसले २५० सदस्यीय सिनेटलाई ५०० सदस्यीय प्रतिनिधि सभासँग संयुक्त रूपमा प्रधानमन्त्री चयन गर्ने अधिकार दिन्छ ।

संवैधानिक अदालतले बिहीबार लोकपालको याचिकामाथिको सुनुवाइ अगस्ट १६ सम्मका लागि स्थगित गरेको जनाएको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै उजुरीहरूको सावधानीपूर्वक विचार गर्न थप जानकारी आवश्यक रहेको बताएको छ ।

गत महिना राज्य लोकपालको कार्यालयले संवैधानिक अदालतलाई जुलाई १९ मा संयुक्त संसदीय बैठकको मतदान पुनरावलोकन गर्न अनुरोध गरेको थियो ।

मे महिनामा भएको चुनावमा एमएफपी राष्ट्रिय सभाको तल्लो सदनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो । त्यसपछि उसले दोस्रो ठूलो पार्टी फेउ थाई पार्टी र अन्य साना पार्टीहरूसँग मिलेर पितालाई प्रधानमन्त्रीपदका लागि समर्थन गर्न गठबन्धन बनाएको छ ।

यद्यपि, पिताले थाई द्विसदनीय संसदका पछिल्ला दुई बैठकहरूमा आवश्यक समर्थन प्राप्त गर्न असफल भएका थिए, जसका कारण एमएफपीले गत महिना पद छोड्ने र फेउ थाई पार्टीलाई नयाँ सरकार गठनको नेतृत्व गर्न अनुमति दिने निर्णय गरेको थियो ।