पत्रपत्रिका

सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

१९ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो ।

आव २०७५/७६ मा वैदेशिक रोजगारीमा जान पाँच लाख आठ हजार ८२७ जनाले श्रम स्वीकृति लिएकामम ३५ प्रतिशत दक्ष रहेको पाइएको छ । आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकामा दक्ष जनशक्तिको सङ्ख्या पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) रहेको छ । 

यो सङ्ख्या हेर्दा आव २०७८/७९ मा भन्दा आव २०७९/८० मा १९ प्रतिशत बढेको देखिन्छ । दुई वर्षको तथ्याङ्कबाट पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि गर्छ । 

यस्तै आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख ९१ हजार ८८९ जना (४७ प्रतिशत) दक्ष जनशक्ति थिए भने आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामा ७० हजार ४२६ (४२ प्रतिशत) जना दक्ष रहेका छन् । 

विभागका अनुसार आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएर विदेश गएकामध्ये अर्धदक्ष भएर जानेको सङ्ख्या ६० हजार ५५५ जना (आठ प्रतिशत) रहेको छ भने अदक्षको सङ्ख्या दुई लाख दुई हजार ६१६ जना (२६ प्रतिशत) रहेको छ । यस्तै सो अवधिमा उच्च सिपयुक्त (इन्जिनियर, चिकित्सक, व्यवस्थापक) मा काम गर्न जानेको सङ्ख्या एक हजार ४१० जना (दुई प्रतिशत) रहेको छ । 

आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएकामा अर्धदक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ५४ हजार ३२८ जना (नौ प्रतिशत) रहेको छ भने सो अवधिमा अदक्ष दुई लाख ४३ हजार ६८ जना (४५ प्रतिशत) ले श्रम स्वीकृति लिएर गएका थिए । 

सरकारले रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सिपयुक्त प्रमाणपत्रका आधारमा पठाउने भनेको छ । सिपलाई अनिवार्य गर्न नसके पनि सिप लिएर विदेश जानेको सङ्ख्या क्रमशः बढेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।