पत्रपत्रिका

फिर्के खोलामै भेटिए ४० बढी संरचना

२२ साउन, पोखरा । पोखराको मध्य भाग भएर बग्ने खोलाको नाम हो, फिर्के । यो खोला पोखरा–१८ अँधेरीकुनादेखि सुरु भएर फेवाताल किनार गाईघाटमा गएर मिसिन्छ । बढ्दो सहरीकरणसँगै खोला मिचेर कैयौं भवन संचना निर्माण गरिएपछि फिर्के खोजी अभियान थालेको पोखरा महानगरले तीन सातादेखि सीमांकन जारी राखेको छ ।

सीमांकनमा खटिएका सर्वेक्षकका अनुसार हालसम्मको ४० वटाभन्दा बढी पक्की तथा कच्ची संरचना खोला मिचेर निर्माण गरेको पाइएको छ । कुल आठ किमी लामो खोलाको हालसम्म ६ किमीभन्दा बढी सीमांकन भई किला गाडिएको सर्वेक्षक वासुदेव पौडेलले बताए । उनका अनुसार खोला घरमै परेका धेरै संरचना भएको बताए । उनले भने, ‘हालसम्मको सीमांकनमा ४० वटाभन्दा बढी पक्की तथा कच्ची संरचना खोला मिचेर बनाएको पाइयो । अझै करिब २ किमी जति सीमांकन बाँकी छ । हेरौं अझै कति थपिन्छन् ।’

केही समयअघि फिर्केको मापदण्ड मिचेर लायन्स क्लब र एक धार्मिक समितिले पक्की भवन नै निर्माण गरेका थिए । यस्तै, पाँच समाजघरको भवन पनि मापदण्डविपरीत पाइएको छ । राजनीतिक दल तथा शक्तिकेन्द्रको आडमा लगातारको अतिक्रमणले फिर्केखोला खुम्चिँदै र प्रदूषित हुँदै गएको हो । यहाँ ठुल्ठुला कंक्रिटका संरचना निर्माण गरिएको छ । यसको किनारमा निर्मित कतिपय सामाजिक संघसंस्थाका भवनमा त सरकारी लगानीसमेत छ ।

महानगरले गत ३ साउनदेखि सर्वेक्षक पौडेलको नेतृत्वमा वडा प्रहरी कार्यालय बैदामनजिक गाईघाटबाट फिर्केखोलाको प्राकृतिक सिमाना यकिन गर्न नाप सुरु गरेको हो । सो कार्यमा अर्का सर्वेक्षक बद्रीप्रसाद तिवारीसहित १६ जना अमिन छन् । त्यस्तै, किला गाड्ने, झाडी फाड्ने, सिमेन्टको मसला मुछ्ने र २२ जना नगर प्रहरी गरी कुल ४० जना लगातार खटिएका छन् । हाल पुरानो कालीमाटी धारासम्म सकिएको सीमांकनमा हालसम्म करिब ४ सय पक्की पिलर गाडिएको छ । राजधानी दैनिकमा समाचार छ ।