पत्रपत्रिका

२२ दिनमा ४४ अर्ब आम्दानी, साढे ४ अर्ब खर्च

२४ साउन, काठमाडौं । अन्य महिनामा आम्दानीभन्दा बढी खर्च गर्ने सरकारले साउनको तेस्रो सातासम्ममा भने खर्चभन्दा बढी आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को तेस्रो सातामा सरकारले ४४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १६ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ मात्र गरेको छ । अपेक्षित राजस्व संकलन गर्न नसक्दा बर्सेनि ऋण थप्दै घाटा बजेट ल्याउँदै गरेको सरकारले चालू आवका लागि पनि घाटा बजेट नै ल्याएको थियो ।

सरकारले चालू आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरेको छ भने आम्दानी १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ गर्ने लक्ष्य लिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले राजस्वबाट १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ । गत आवमा कुल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले ९ खर्ब ५७ अर्ब १५ करोड ४१ लाख रुपैयाँबराबर मात्रै राजस्व उठाउन सकेको थियो । जसले गर्दा राष्ट्रको आम्दानीभन्दा खर्च बढ्न गई वैदैशिक कर्जा बढ्न गएको थियो ।

चालू आवमा पनि यही सिलसिला चल्ने अर्थविदहरूको भनाइ छ । यसपालि पनि १० खर्बभन्दा बढी राजस्व उठाउन नसक्ने आँकलन गरिएको छ । तथापि, आव सुरु भएको २२ दिनसम्ममा सरकारले कुल लक्ष्यको ३ प्रतिशत आम्दानी गरिसकेको छ । राजस्व भने कुल लक्ष्यको २ दशमलव ५७ प्रतिशत उठाइसकेको छ । राजधानी दैनिकमा समाचार छ ।