समाचार

भूउपयोग नियमावली संशोधन पारित गर्दै सरकारले गर्‍यो जग्गाको कित्ताकाट

३० साउन, काठमाडौँ । सरकारले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिए ।

नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको मन्त्री शर्माले जानकारी दिए ।

“अब कुनै जग्गा व्यावसायिक वर्गीकरणमा परेकेा छ भने कित्ताकाट नहुने भन्ने समस्या रहँदैन । अंशबण्डा गर्दा न्यूनतम् यति जग्गा हुनै पर्छ भन्ने पनि अब समस्या हुँदैन, मन्त्री शर्माले भने, “मोही बाँडफाँटको पनि कित्ताकाट रोकिएको थियो, त्यो पनि खुल्छ ।”

त्यस्तै, वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषिको लागि एउटा, आवास र व्यावसायिकमा अर्को मापदण्डको व्यवस्था हुने गरी नियमावली संशोधन भएको उनको भनाइ छ ।