पत्रपत्रिका

पशुमा आमखोप अभियानको तयारी

१ भदौ, काठमाडौं । सरकारले ‘लम्पी स्किन’ विरुद्ध पशुमा आमखोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । २०८० माघभित्र एकै पटक ठूलो सङ्ख्यामा पशुलाई खोप अभियान र दोस्रो चरणमा आफ्नै प्रयोगशालाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप बनाउने तयारीमा सरकार लागेको हो ।

यस वर्ष खोप खरिद गरेर र अर्को वर्ष आफैँले उत्पादन गरेर खोप लगाउने तयारी सरकारको छ ।

माघभित्र कम्तीमा ५० लाख पशुलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइने कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले जानकारी दिए । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने र आगामी वर्ष आफ्नै प्रयोगशालाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गरिने उनले दाबी गरे ।

आफ्नो भारत भ्रमणका क्रममा भारतीय उच्च अधिकारीसँग त्यस विषयमा छलफल भएको भन्दै मन्त्री भुसालले त्यहाँबाट सम्भव नभए नेपाल सरकारले ‘सिड भाइरस’ खरिद गर्ने उल्लेख गरे । ‘सिड भाइरस’ ल्याउने सन्दर्भमा भारत चीनसँगै सुरुमा उत्पादन गर्ने वैज्ञानिकसँग छलफल भइरहेको उनले उल्लेख गरे ।

प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारले ‘लम्पी स्किन’ रोग नियन्त्रणमा भएको उपलब्धिबारे सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले किसानलाई राहत दिने कार्यक्रमको तयारी गरिरहेको बताए ।

उनले भारत र चीनमा एक वर्षअघि फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमणलाई रोक्न चालेका कदमको सिको सिक्दै नेपालले प्रयास थालिरहेको बताए । उनले प्रदेश र स्थानीय तहका जिम्मेवार पदाधिकारीसँग क्षतिपूर्तिका बारेमा गहन छलफल गरेर थप निर्णय लिने बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस आर्थिक वर्षमा ५० लाख पशुलाई ‘मास भ्याक्सिनेसन’ ६५ करोड रुपियाँ बजेटको माग गरेको बताए । सो रकम समयमै उपलब्ध भएमा माघसम्मको भ्याक्सिन हुने बताए । विश्व पशु स्वास्थ्य सङ्गठनको मापदण्डमा एक करोड २२ लाखको सङ्ख्यामा पशु रहेकाले कम्तीमा पनि ८० लाखलाई खोप लगाउन आवश्यक रहेको बताउँदै आएको छ ।

पहिलो वर्षमा लागेको पशुलाई सामान्यता सोही सङ्क्रमण नदोहोरिने भएकाले अहिले १३ लाख र माघमा ५० लाख पशुमा सो खोप लगाउँदा पशु स्वास्थ्य सङ्गठनले भनेको मापदण्ड पूरा हुने विश्वास विभागको रहेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।