मनोरञ्जन

व्यापक प्रचार प्रसारमा व्यस्त ‘जय हो’ टिम

१ भाद्र, काठमाडौं । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा जय हो टिम अहिले व्यापक प्रचार प्रसारमा व्यस्त छ । सिनेमाको निर्माण टिम अहिले दैनिक जसो कुनै न कुनै कार्यक्रममा सहभागी भएर जय हो प्रचार गरिरहेको देखिन्छ ।

यसैबीच सिनेमाको टिम शुक्रबार विहान चुच्चेपाटी स्थित मनास्लु कलेज पुगेर जय हो प्रचार गरेको छ । कलेजका करिब एक हजार विद्यार्थीमाझ सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, प्रस्तुतकर्ता शोभित बस्नेत र निर्देशक टेक पौरखी राई जय होको बारेमा जानकारी दिएका थिए ।

सिनेमाका मुख्य अभिनेत सलोन बस्नेतले आफ्नै स्वरमा रहेको बिहीबार सार्वजनिक गीत सपनाको वेडिङ्ग गाएर सुनाएका थिए । करिब एक घन्टा जय हो टिमले विद्यार्थीसँग विताएको थियो । निर्माण टिमका अनुसार विद्यार्थीले सिनेमाको बारेमा निकै चासोका साथ टिमसँग अन्तरक्रिया गरेका थिए ।

सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन ९सरकार० र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।