स्वास्थ्य

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

२ भदौ, भरतपुर । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।

अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए। उनले क्रिटिकल केयर (आइसियु, सिसियु, पिआइसियु, एनआइसियु), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक बार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए।

अस्पतालमा हाल छ सय शय्या सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ । भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन् । अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए।

नेचर गाइड एसोसिएसनमा गुरुङ निर्वाचित

नेचर गाइड एसोसिएसन चितवनको अध्यक्षमा अनिलकुमार गुरुङ निर्वाचित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका नेचर गाइडको एसोसिएसनको शुक्रबार सौराहामा भएको २३औँ वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको अध्यक्ष पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो । गणेश अर्याल, रामचन्द्र सापकोटा र योगप्रसाद लामिछानेलाई पछि पार्दै गुरुङ निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा रामगिरप्रसाद चौधरी निर्वाचित भए। उनले अनिल शिवाकोटीलाई पराजित गरे। अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

समितिको सचिवमा ओमप्रकाश थापा, कोषाध्यक्षमा पुष्पराज पाठक, सदस्यमा दिलीप सुवेदी, जीतेन्द्रकुमार सिंह, सम्झना आचार्य तिवारी, सुस्मिता न्यौपाने, सन्तोष क्षेत्री भट्ट, सञ्जय ढकाल र बद्रिप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएको पूर्वअध्यक्ष विष्णु थापाले जानकारी दिए।