पर्यटन/संस्कृति

तेह्रौँ शताब्दीको शिव मन्दिर पुनः निर्माण

२ भदौ, नवलपुुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले विसं २०७० मा उत्खनन सुरु गरेको थियो ।

दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात् सिख्रौलीमा सुर्खेतको काँक्रे विहारमा रहेको जस्तै १३औँ शताब्दीको शिखर शैलीको शिव मन्दिर रहेको विभागले निष्कर्ष निकालेको थियो । पुरानै भग्नावशेष भेटिएको स्थानमा नै पुरातत्व विभागले रु सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुनः निर्माण सम्पन्न गरेको छ ।

मन्दिरको पुनः निर्माण सकिए पनि मन्दिरको प्राण प्रतिष्ठा नगरिएका कारण पूजाआजाका लागि मन्दिर खुला नगरिएको कैलाश सन्न्यास आश्रम, महादेव थान व्यवस्थापन समितिका उपाध्यक्ष प्रेमलाल पौडेलले बताए । “पुरातत्व विभागले मन्दिरको पुनः निर्माण सकिएको भनेर बजेट निकासा गरिसक्यो”, उनले भने, “तर, उत्खनन गर्ने बेलामा मन्दिरको शिवलिङ्ग फुटेको अवस्थामा भेटिएको थियो, मन्दिर पुनः निर्माण गर्दा फुटेकै शिवलिङ्ग राखेका छौँ ।”

पुरानो शिवलिङ्गको ठाउँमा नयाँ शिवलिङ्ग प्रतिस्थापन नगरेसम्म मन्दिरको प्राणप्रतिष्ठा नगर्ने भन्दै उनले त्यसपछिमात्र मन्दिरमा पूजाआजा सुरु हुने जानकारी दिए । “नयाँ शिवलिङ्ग राख्ने भनेर विभागले नापजाँचसमेत गरिसकेको छ”, उनले भने, “गएको फागुनमा मन्दिर निर्माण सकिएको अवस्थामा अझैसम्म शिवलिङ्ग राख्ने काम नभएपछि हामी विभागमा ‘डेलिगेसन’ जाने तयारी गरेका छौँ ।”

कैलाश सन्यास आश्रममा भेटिएको १३औँ शताब्दीको मन्दिर नापजाँच गरेर मन्दिर पुनः निर्माण गर्ने क्रममा केही अपुग भएका ढुङ्गा गैँडाकोट–१४ को रनतपुर तथा पाल्पाबाट ल्याइएको पौडेलले बताए । “विसं२०७० मा उत्खनन सुरु गरिएको ठाउँमा दुई वर्ष लगाएर मन्दिरका भग्नावशेषका रुपमा रहेका करिब एक हजार पाँच सय ढुङ्गाहरु झिकिएका थिए”, उनले भने, “त्यहाँ आठ सय वर्ष पुराना इँटा, पुरानो बुद्धको मूर्ति, हात्तीको सुँढ र गणेशको प्रतिमा भेटिएको थियो ।”