राजनीति

सशस्त्र युद्धप्रति ओलीको अभिव्यक्ति घृणास्पद : महासचिव भूसाल

२ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले माओवादी सशस्त्र विद्रोहप्रति एमालेका अध्यक्ष केपी शर्मा ओलीले घृणास्पद अभिव्यक्ति दिने गरेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका भूसालले ओलीले मिल्दा माओवादी सशस्त्र विद्रोहलाई महान् र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको आफूलाई चित्त नबुझेको बताए ।

उनले अघि भने, “खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरु कतिपय साथीहरुले पनि इतिहासको बारेमा जसरी बोल्छन्, स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् । हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दाखेरि इतिहासलाई अझै धेरै अगाडि लैजान्छौं भनेर सबै सहमति भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दाखेरि जतिखेर मिलिन्छ, त्यतिखेर चाहिं यो महान् कुरा थियो भन्ने ।”

“जतिखेर मिलिंदैन, त्यतिखेर चाहिं यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु म चाहिं’ उनले भने ।