समाचार

दिगो विकास र पुस्तकालय : वर्तमान अवस्था, चुनौती र अवसर विषयक कार्यक्रम

३ भदौ, काठमाडौँ । अबको पुस्तकालय डिजिटलरूपमा विकास गरी अनलाइन र अफलाइनको माध्यमबाट पनि उपलब्ध हुने व्यवस्था गर्न दिगो विकास समितिको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको छ ।

सङ्घीय संसद्, राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समिति सिंहदरबारमा आयोजित कार्यक्रममा लाइब्रेरी डेभलोपमेन्ट फोरमका निर्देशक यज्ञराज भट्टले अडियो, भिडियो जस्ता सामग्रीका रूपमा पुस्तकालयलाई विकास गर्नुपर्ने धारणा व्यक्त गरे । उनले छिटोछरितो रूपमा उपलब्ध भई पढ्न सजिलो हुनेगरी जुनसुकै स्थानमा भए पनि अवरोध नहुने किसिमको डिजिटल रूपमा पुस्तकालयको विकास गर्न जोड दिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पनि अबको युग डिजिटल युग भएकोले आवाज, दृश्यसँगै विभिन्न प्रकारको भाषामा पढ्न मिल्ने गरी नेपालको पुस्तकालयलाई विकास गर्नुपर्ने कुरामा समितिको ध्यानाकर्षण गराए । उनले केन्द्रमा बृहत् पुस्तकालय निर्माण गर्नेदेखि डिजिटल सामग्रीको भरपुर उपलब्धता हुनुपर्ने कुरामा समेत जोड दिए ।

नेपाल पुस्तकालय सङ्घका अध्यक्ष इन्द्रप्रसाद अधिकारीका अनुसार देशभरमा जम्मा तीन सय २७ वटा सामुदायिक र सार्वजनिक पुस्तकालय रहेका छन् । उनले नेपाल राष्ट्रिय पुस्तकालय भवन २०७२ को भूकम्पमा भत्किएको र हालसम्म पुनः निर्माण हुन नसक्दा सानोठिमीमा टहरोमा काम चलाउ अवस्थामा सञ्चालन गर्नुपरेको जानकारी दिए ।

समितिको छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका पुस्तकालय समन्वय शाखाका उपसचिव यादवचन्द्र निरौलाले नेपाल राष्ट्रिय पुस्तकालयका लागि नेपाल सरकारले काठमाडौँ महानगरपालिका–१ जमलमा रहेको करिब आठ रोपनी जग्गामा भवन निर्माण गर्ने योजना रहेकोमा भवन निर्माणसम्बन्धी केही प्राविधिक कमजोरीका कारण भवन निर्माण कार्यको थालनी हुन नसकेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री प्रमिला कुमारीले पुस्तकालयको अवस्था राम्रो भए त्यस ठाउँको जनशक्ति पनि राम्रो उत्पादन हुने बताए । उहाँले पुस्तकालयमा सकारात्मक परिवर्तनसँगै डिजिटल पुस्तकालयको निर्माण गर्नु आजको आवश्यकता रहेको धारणा व्यक्त गरे ।