स्वास्थ्य

जानकी आँखा अस्पताल : पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

४ भदौ, जनकपुरधाम । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पु¥याएको छ ।

यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक रहेको छ । उनी विगत ४१ वर्षदेखि अस्पताल भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रको श्रीवृद्धिमा अनवरत मिहिनतका साथ लागिरहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी धनुषा र जानकी आँखा अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका समाजसेवी सिंहले भने, “सन् १९८२ मा भिन्न परिवेशमा यो अस्पताल स्थापना भयो । अस्पतालले यो स्तरमा आफ्नो पहिचान बनाउने कुरा धेरैले कल्पना गरेका थिएनन् । तत्कालीन समयमा जनकपुर क्षेत्रमा अन्धोपन निवारण र आँखाका बिरामीका लागि केही सहयोग गर्ने उद्देश्यले आँखा शिविरलाई संस्थागत स्वरुप दिन उपचार केन्द्रका रुपमा सेवा सञ्चालन गरिएको थियो ।”

जानकारका अनुसार सन् १९५९ देखि वर्षको एकपटक आँखा शिविर सञ्चालन गरी समस्या समाधान गर्ने ध्येयले जनकपुरमा सुरु भएको अभियानले संस्थागत उपचार सेवा ÷ केन्द्रको स्वरुप ग्रहण गर्न करिब २० वर्ष लागेको थियो ।

विसं २०३८ चैत १७ गते प्रतिष्ठित समाजसेवी मकेश्वरप्रसाद सिंह नेतृत्वमा गठित समितिको सोच, योजना र पहलकदमीबाट सुरुआत भएको यो अस्पतालले कालान्तरमा गुणस्तरीय सेवाप्रवाह र आँखा स्वास्थ्यबारे गाउँगाउँमा फैलाएको चेतनाका कारण जनविश्वास आर्जन गरेको उनीहरुको बुझाइ छ ।

“तत्कालीन समयमा आँखा स्वास्थ्य समस्याअर्थात् अन्धोपन निवारणका लागि नेपालका अरु भूभागमा जस्तै जनकपुरमा पनि आँखा शिविरलाई बृहत्स्वरुप दिई त्यसैलाई संस्थागत गरिएको हो”, अध्यक्ष सिंहले भने, “स्थानीय समाजसेवीको पहलकदमीमा रेडक्रसले पनि सहयोग एवं साझेदारी गरेपछि जानकी आँखा उपचार केन्द्रको संस्थागत विकास भएको देखिन्छ ।”

अस्पतालका निर्देशक डा आशिष बोहराले पनि वर्षमा एउटा शिविर सञ्चालन गर्नसमेत दाताबाट चन्दा सङ्कलन गर्नुपर्ने बाध्यताबाट मुक्तिका लागि अस्पतालको स्थापना भएको र त्यसमा यहाँका थुप्रै अग्रज तथा सरोकारवालाको योगदान स्मरणीय रहेको बताए। उनले केही रकम तिर्नसक्ने बिरामीबाट न्यूनतम शुल्क लिएर बाँकी बिरामीकै लागि खर्च गर्ने सिद्धान्तअनुसार आज पर्यन्त सेवा प्रवाह भइरहेको जानकारी दिए।

तत्कालीन समयमा सामाजिक सेवामा समर्पित अगुवा मकेश्वरप्रसाद सिंह, बौएलाल साह, मेघप्रसाद उपाध्याय, जयवल्लभ दास, मदन गिरी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश राम नगिना सिंह, वरिष्ठ अधिवक्ता रामजीप्रसाद मैनालीलगायतको विशेष योगदानका कारण यो पवित्र कार्यले मूर्तरुप लिएको निर्देशक डा बोहराको भनाइ छ ।

अस्पताल प्रशासन शाखा प्रमुख दीपेन्द्रकुमार सिंहले दिएको जानकारीअनुसार सुरुमा जनकपुरको पूरानो बसपार्क नजिक समाजसेवी लक्ष्मणप्रसाद साहले दिएको दुई कट्ठा जमिन र तीन कोठे कच्ची घरबाट आँखा उपचार सेवा सुरु भएको थियो । पछि जनकपुरधाम–८, रामानन्द चोक (हाल अस्पताल रहेको स्थान) नजिकै गुठी संस्थानबाट प्राप्त एक बिघा, १३ कट्ठा, नौ धुर र केन्द्रले खरिद गरेको चार कट्ठा जमिनमा रहेको संरचनाबाट अस्पतालले सेवा विस्तार ग¥यो । सन् १९९१ मा स्वीस् रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगपछि २५ शय्याको अस्पतालमा रुपान्तरित भएकोमा हाल एक सय शय्या क्षमतामा सेवा प्रवाह भइरहेको उनले बताए।

“आँखा शिविरबाट आँखा उपचार केन्द्रमा रुपान्तरण भई सेवा सुरु गरेको अस्पताल हाल एकसय शय्यामा सञ्चालित छ । अहिलेकै संरचना र शय्याले बिरामीको चाप धान्न मुस्किल भइरहेको छ”, उनले भने, “आर्थिकरुपमा कमजोर, विपन्न नागरिकले पैसाकै अभावमा उपचारबिना फर्केर जानुनपर्ने अवस्था सुनिश्चित गरिएको छ । यसमा सरकारको पनि केही सहयोग रहेमा सेवामा थप प्रभावकारिता ल्याई नागरिकको माग सम्बोधन र बिरामीको चापलाई धान्न सकिन्छ ।”

एक्काइस लाखभन्दा बढी लाभान्वित

अस्पताल स्थापना भएयता ४१ वर्षमा २१ लाख ६२ हजार चार सय २९ नागरिक बहिरङ्ग (ओपिडी) सेवाबाट लाभान्वित भएको र दुई लाख दुई हजार २२ जनाले शल्यक्रिया सेवा लिएको अस्पतालको तथ्याङ्क छ ।

“शिविरबाट कति जना लाभान्वित भए भनेर यकिन तथ्याङ्क छैन तर अस्पतालको ओपिडी सेवा लिनेको सङ्ख्या हालसम्म २१ लाख ६२ हजारभन्दा बढी छ”, अस्पताल निर्देशक डा बोहरा भन्छन्, “सीमित स्रोतसाधन, दक्ष जनशक्तिको अभाव र अन्य समस्याका बाबजुत अस्पतालले दृष्टिविहीनमा दृष्टि र आम नागरिकमा खुसी फर्काउन एकसाथ काम गरिरहेको छ ।”

समितिका अध्यक्ष सिंहले जनकपुरमा सरकारी अस्पतालमा आँखा विभाग र अरु सात अस्पताल सञ्चालनमा रहे पनि धेरै नागरिकले सर्वसुलभ र गुणस्तरीय सेवा दिएकै कारण अस्पतालप्रतिको आकर्षण निरन्तर बढिरहेको बताए।

आँखा उपचारबाहेक बर्सेनि यस क्षेत्रका एकसय विद्यालयमा आँखा स्वास्थ्यबारे सचेतना, एकसय स्वास्थ्य स्वयंसेविकालाई प्राथमिक आँखा उपचारबारे जानकारी दिनुका साथै विगत सात वर्षदेखि करिब चार सय धामीझाँक्रीलाई शिक्षा दिने काम पनि भएको विवरण छ ।

अस्पतालले तीन तरिकाबाट नागरिकलाई सेवा दिइरहेको छ । मुख्य अस्पताल जनकपुरबाट दैनिक शल्यक्रिया, अन्तरङ्ग, बहिरङ्ग, आकस्मिक सेवा, छ वटा शाखाका रुपमा रहेका मातहतका सामुदायिक आँखा उपचार केन्द्र (महोत्तरीको गौशाला, धबौली, धनुषाको यदुकुवा, सबैला, सल्र्लाहीको लालबन्दी र सिन्धुलीको सिन्धुलीगढी) बाट समेत थप सेवा प्रवाह भइरहेको छ । तीमध्ये सिन्धुली, लालबन्दी, यदुकुवा र धबौलीलाई शल्यक्रिया केन्द्रको रुपमा समेत विकास गरिएको छ ।

त्यसैगरी सामान्यतः प्रतिवर्ष एकसय आँखा शिविर सञ्चालन गरी आँखा उपचार तथा शल्यक्रियाको काम भइरहेको अस्पतालका सूचना अधिकारी एवं बाह्य कार्यक्रम इञ्चार्ज रुदलप्रसाद साहले जानकारी दिए। यसरी सञ्चालन हुने शिविरबाट पहिचान भएका समस्याका आधारमा तत्काल र पछि जनकपुर अस्पताल ल्याएर शल्यक्रियालगायतका सेवा निःशुल्क प्रदान गर्ने गरिएको सिंहले बताए।

“यो अस्पतालको सुरुआत नै शिविरबाट भएको हो । त्यसलाई निरन्तरता दिइरहेका छौँ । जसबाट जनकपुर र अन्य ठाउँमा गई उपचार गर्न नसक्ने ग्रामीण क्षेत्रका लाखौँ नागरिक लाभान्वित भएका छन्”, उनले भने।